काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग आज साँझ पनि छलफल गर्ने भएका छन्।
संसद्मा टेबुल भएको एमसीसीमा सहमति जुटाउने कसरतमा रहेका देउवाले ओलीसँग एक्लै कुरा गर्न लागेका हुन्।
गठबन्धनका दलहरुको साथ नपाएपछि देउवाले प्रतिपक्षीसँग संवाद बाक्लो बनाएका छन्। आजका लागि डाकिएको संसद् बैठक अन्तिम समयमा स्थगित गराएर देउवाले संसद् भवनमै ओलीसहित नेताहरुसँग छलफल गरेका थिए। छलफलमा कांग्रेस महामन्त्री गगन थापा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
सरकारले एमसीसी सम्झौता संसद्मा पेस गरे पनि त्यसमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको छैन। किनभने एमसीसीबारे सत्ता गठबन्धनभित्रै चर्को मतभेद छ।
साझेदार दलहरुले साथ नदिएपछि देउवा विपक्षी दलसँग मिलेर एमसीसीलाई निकास दिन लागिपरेका हुन्। एमालेसँग संवादकै लागि देउवाले आजको प्रतिनिधिसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेका थिए। अर्को बैठक भोलि दिउँसो १ बजेका लागि डाकिएको छ।