काठमाडौं- सार्वभौम मुलुक युक्रेनमाथि रुसले सैन्य बल प्रयोग गरेको भन्दै नेपालले विरोध गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको परराष्ट्र मन्त्रालयले यस्तो युक्रेनका दुई क्षेत्रलाई स्वायत्त राज्यको मान्यता दिनुसमेत संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको उल्लेख गरेको हो।
'कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपालले उक्त क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त क्षेत्रमा तनाव बढ्न नदिन उच्च संयमता अपनाउन नेपालले आग्रह गरेको छ।
‘युक्रेनका दुई क्षेत्र डानबास र लुह्यान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिनु संयुक्त राष्ट्रसंघ बडापत्रविपरीत छ,' परराष्ट्रले जारी गरेको विज्ञफ्तिमा उल्लेख छ। रुस-युक्रेन विवादको वार्तामार्फत् समाधान खोज्नसमेत नेपालको आग्रह छ।