काठमाडौं- एमसीसी सम्झौतामाथि छलफल गर्न बिहीबार लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो। तर, सरकारले बैठक सार्नका लागि आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गर्दै शुक्रबारसम्मका लागि बैठक सारेका हुन्।
खासगरी सत्तारुढ गठबन्धनमा एमसीसीलाई लिएर विभाजित छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको दल नेपाली कांग्रेस एमसीसी पास गर्न सक्रिय छन्। तर, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने तयारीमा छन्।
जनता समाजवादी समेत एमसीसीका सन्दर्भमा विभाजित छ। गठबन्धन दलले एमसीसी पास गर्न असहयोग गर्ने टुंगो लागेपछि देउवाले संवादका लागि २४ घण्टाको समय मागेको स्रोतको दाबी छ।
‘एमसीसीका सन्दर्भमा गठबन्धनमा सहमति भएन। थप छलफल गर्नु पर्ने भएकाले प्रधानमन्त्रीजीले समय माग्नुभएको हो। सोही अनुरुप बैठक स्थगित भएको हो,’ कांग्रेस सांसद् मीन विश्वकर्माले भने।
गठबन्धनमा होइन, अब एमालेसँग संवाद
स्रोतका अनुसार देउवा अब गठबन्धनमा छलफल गर्ने पक्षमा छैनन्। बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल पछि देउवा गठबन्धनको भारी बिसाउने निर्णयमा पुगिसकेका छन्।
सत्तासाझेदार दलका सबै सर्त पूरा गर्दा पनि एमसीसी पास गर्ने सन्दर्भमा आफूलाई धोका दिइएको बुझाइ देउवाको छ। देउवाले प्रचण्डलाई एमसीसी अनुमोदनका लागि सहयोग गर्न बिहीबार पनि आग्रह गरेका थिए।
‘एमसीसी अनुमोदन गर्नुपर्ने प्रेसरमा छु। गठबन्धनकै सहयोगमा एमसीसी अनुमोदन होस् भन्ने मेरो चाहाना छ। तपाईहरुले सहयोग गर्नुपर्यो,’ देउवाले भनेका थिए, ‘तपाईहरुले सहयोग गर्नुभएन भने गठबन्धन टुटे टुटोस्, म एमसीसी पास गरेरै छाड्छु।’
तर, देउवाको प्रस्ताव प्रचण्डले नकारेका थिए। यथास्थितीमा एमसीसी पास गर्न नसकिने पुरानै अडान दोहोर्याएका प्रचण्डले भनेका थिए, ‘जबरजस्ती पास गर्ने तर्फ चिज अघि बढ्यो भने हामी सरकारमा होइन, सडकमा जान्छौं।’
प्रचण्डले सडकमा जाने बताइसकेपछि गठबन्धनमा छलफलको औचित्य सकिएको देउवाको निष्कर्ष छ। ‘प्रचण्डले सडक रोज्ने बताइसकेपछि अब गठबन्धनमा छलफल गरिरहनुपर्ने अवस्था छैन भन्नेमा प्रधानमन्त्रीज्यू पुग्नुभएको छ,’ उनी निटक स्रोत भन्छ, ‘यद्यपि राजनीतिमा कुनै कुराको भर भने हुँदैन।’
गठबन्धनमा छलफलको औचित्य सकिएको भए आगामी मुभ के त? स्रोत भन्छ, ‘अब संसद् भित्रका अन्य दलसँग संवाद अघि बढ्ने छ। त्यसैका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो।’ एमसीसीमा गठबन्धनबाट असहयोग हुने बुझेका देउवाले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निरन्तर छलफल गरिरहेका छन्।
एमालेले एमसीसी अनुमोदनका लागि सहयोग गर्नुपर्ने अवस्थामा तीन सर्त अघि सारेको छ। पहिलो– गठबन्धन तोड्नुपर्छ। दोस्रो–१४ जना सांसद माथि कारबाही हुनपर्छ। तेस्रो–सभामुख अग्नि सापकोटालाई हटाउनुपर्छ। देउवा एमालेको सर्त अनुसार गठबन्धन तोड्न तयार देखिएका छन्। एमालेका अन्य माग समेत पुरा गर्न देउवा तयार देखिएका छन्। त्यसको संकेत कांग्रेस नेता रामचन्द्र पौडेलले गरिसकेका छन्। एमसीसी अनुमोदनमा सहयोग नगरे गठबन्धन टुट्ने र एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आउन लागेको उनले बताएका थिए। एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आए उसका माग पुरा गर्नुपर्ने अवस्था आउन लागेको पौडेलको भनाइ छ।