काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले बिहीबार एमसीसी सदनबाट अनुमोदन भए वा नभए पनि विरोध जारी रहने बताएको छ। पार्टी प्रवक्ता हरिभक्त कँडेलले नेपाल समयसँग कुरा गर्दै एमसीसीजस्तो राष्ट्रघाती सम्झौता जुन ढंगले अघि बढे पनि आन्दोलन जारी रहने बताएका हुन्।
‘एमसीसी पास भए पनि लागू गर्न नदिने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘ हामीले बारम्बार सचेत गराउँदै आउँदा पनि गठबन्धन सरकार अगाडि बढ्दै छ। जुन निकै घातक हुनेछ । कुनै प्रकारको राष्ट्रघाती सम्झौता मान्य हुने छैन।’
कँडेल शेरबहादुर देउवालाई अमेरिकी शक्तिको अनुयायी भएको आरोपसमेत लगाएका छन्। उनका अनुसार एमसीसीमा हस्ताक्षर गरेर एकपटक गल्ती गर्नु सामान्य कुरा भए पनि नियोजित रूपमा विदेशी शक्तिसँग साँठगाँठ गर्नु नेपालको लागि दुर्भाग्य हो।
यसअघि बुधबार नै पार्टी अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर एमसीसी अनुमोदन नगर्न आग्रह गरेका थिए।