काठमाडौं- घरनजिकै खाल्डोमा जमेको पानीमा डुबेर बुधबार साँझ मोरङमा एक बालकको ज्यान गएको छ। जहदा गाउँपालिका-७ मझारेस्थित सिर्सियामा एक नाबालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेमा महेश हस्दाका ३० महिनाका छोरा रविन हस्दा रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अनुसार घरअगाडि रहेको कल (ट्युबेल)को पानी जमेको खाल्डोमा खसेर बेहोस भएका बालकलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो।
उपचारका क्रममा चिकित्सकले साँझ ५ बजेतिर उनलाई मृत घोषित गरेका थिए। प्रहरीका अनुसार आमा बजार गएको र बुवा घरकै काममा व्यस्त भएका बेला खेल्दै जाने क्रममा बालक खाल्डोमा खसेका थिए।