काठमाडौं- नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ। बुधबार सूचना जारी गर्दै १६ जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जानकारी दिएको हो।
'राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्त्वको विषय भएकाले प्रतिनिधि सभाका सांसदलाई राजधानी नछाड्न पार्टीले निर्देशन दिएपछि अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसको भनाइ छ। यसअघि फागुन १५ गते अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो।
गत मंसिरमै केन्द्रीय महाधिवेशन भएपनि केही निर्वाचन क्षेत्र र जिल्लामा अधिवेशन अहिलेसम्म भएको छैन। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेश २ का सबै सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अधिवेशन भएको छैन।
त्यसैगरी सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको पनि जिल्ला अधिवेशन हुन बाँकी छ।