काठमाडौं- अभिनेता पल शाहले एक नाबालिक गायिकामाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भन्ने स्थानमा रहेकाले उनीविरुद्ध जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी परेको खुलेको छ।
कास्की घर भएकी पीडित किशोरीका बुबा सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यलय कास्की गएका थिए। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले पीडित परिवारलाई तनहुँ पठाएको हो।
बुधबार प्रहरी कार्यलयमा पीडित किशोरीका बुबाले दिएको जाहेरीमा छोरीले विगत तीन महिनादेखि काममा मन नलगाएपछि, एकोहोरो बस्न थालेपछि कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती करणी गरेको खुलेको हो।
पलले ती नाबालिक गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ।
पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी पनि सवार थिए।
त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाई फकाइ ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ।
बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी पनि सवार थिए।
प्रिमियरका दिनमा लागेको झट्का
शुक्रबारदेखि पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ देशभरका हलमा प्रदर्शन हुँदैछ। त्यसैले बुधबार साँझ काठमाडौंस्थित किर्तिपुर सिनेप्लेक्समा यसको ग्रान्ड प्रिमियर भइरहेको छ।
प्रिमियरकै अघिल्लो दिन अर्थात् हिजो मंगलबार पलको जन्मदिनको परेको थियो। तर, जन्मदिनकै सम्मुखमा उनले नाबालिग गायिकासँग यौनजन्य अपराध गरेको पुष्टि हुने अडियो नै सार्वजनिक भएपछि उनी तनावमा थिए। तर, कोरोनाका कारण लामो ब्रेकपछि रिलिज हुन लागेको फिल्म प्रिमियरकै दिन उनीविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी परेपछि उनलाई झन् ठूलो झट्का परेको छ। ‘अहिलेसम्म उनी प्रिमियरमा आएका छैनन्, सायद पक्राउ परिने डरले हुनसक्छ,’ प्रिमियरमा सहभागी एक पत्रकारले भने।
के छ प्रहरीको तयारी ?
पलविरुद्ध किटानी जाहेरी परेपछि तनहुँ प्रहरीले सबैभन्दा सुरुमा पीडित नाबालिग गायिकाको स्वास्थ्य परीक्षण गरेको छ। ‘अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। उनलाई आजै पक्राउ गर्ने तयारी भइरहेको छ। अनि थप अनुसन्धान हुनेछ,’ तनहुँ प्रहरी श्रोतले भन्यो।
के भन्छ कानुनले?
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।