काठमाडौं- लेखक डा गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत सङ्ग्रहको लोकार्पण गरिएको छ। मङ्गलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त गीति सङ्ग्रहको लोकार्पण गरेका हुन्।
पुस्तकको लोकार्पण गर्दै अध्यक्ष दाहालले गीत सङ्ग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रित गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताए। पार्टी र सङ्गठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यमबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको पनि उनले बताए।
ठाकुर वर्गीय र वैचारिकरुपले श्रमजीवी वर्गप्रति समर्पित लेखक भएको चर्चा गर्दै अध्यक्ष दाहालले बहुआयामिक प्रतिभाको धनी भए पनि क्षमताअनुसार उनलाई सबैले आत्मसात् नगरेका हुन् भन्ने आफूलाई लागेको बताए। 'उहाँ पिछडिएको भनिने समुदायबाट आउनुभएको छ, सोही वर्गको प्रतिनिधित्व गर्दै रचना सिर्जना गर्नुहुन्छ,' अध्यक्ष दाहालले भने, 'सायद यहीँ कारणले पनि मानिसहरुले उहाँको बहुआयामिक क्षमताको जति आत्मसात् गर्नुपथ्र्यो त्यति आत्मसात् गर्न नसकेको जस्तो मलाई लाग्छ।'
भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा गोपाल ठाकुरले बताए। पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ गीत समावेश गरिएको छ। अधिकांश गीत लोकलयमा आधारित रहेको र केही गीतहरु आफूले सङ्गीत राखेर रेकर्ड गर्ने तयारी गरिरहेको उनले बताए।