काठमाडौं– काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका–३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन्।
निक्षेपकर्ताहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफूखुशी सहकारीको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेर उक्त ठगी गरी सहकारीमा ताला लगाएर फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं अनामनगर र शिवलाई पकनाजोलबाट पक्राउ गरेको हो।
अन्य बचतकर्ताहरुले समेत उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न उक्त ब्यूरोले अनुरोध गर्नुका साथै यस सम्बन्धमा ब्युरोबाट थप अनुसन्धान भइरहेको छ।