काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति बिना पासपोर्ट र टिकट विमानको भित्रैसम्म पुगेका छन्। सोमबार राति कतार उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको जहाजमा ती व्यक्ति भेटिएका हुन्।
बिनाकागजात बिजनेस क्लासमा यात्रा गर्न लागेका ती युवक हुन् रौतहटका १८ वर्षीय हस्पम आलम। उडान कर्मचारीले कागजात मागेपछि उनी समातिएका हुन्। कागजात नभेटिएपछि कर्मचारीले प्रहरी बोलाएर उनलाई जहाजबाट झारेका थिए।
आलमलाई प्रहरीले हिरासतमा राखेको छ। विमानस्थल सुरक्षा कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। सुरक्षा घेरा छलेर आलम कसरी विमानभित्रै पुगे भनेर छानबिन गरिने प्रहरीले बताएको छ।
विमानस्थलको दक्षिण क्षेत्रमा रहेको जहाज पर्किङ क्षेत्रबाट उनी भित्र छिरेको र विमानसम्म पुगेको विमानस्थल प्रहरीको अनुमान छ। तारबार मर्मतको काम भइरहेकोले कुनै छिद्रबाट उनी छिरेको हुनसक्ने प्रहरीको भनाइ छ।