काठमाडौं– पर्सि शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानमा पानी पार्ने मौसमविद्ले अनुमान गरेका छन्। उक्त मौसमी प्रणालीको असर शनिबारसम्म रहने अनुमान छ।
नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम बदली भएको छ। भोलि बिहीबार पर्ने सम्भावना नरहेको तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार शुक्रबार सुदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा मेघ गर्जन र चट्याङको समेत सम्भावना छ। उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
यस वर्षको हिउँद सकिन केही दिन बाँकी छ। डिसेम्बरदेखि फेब्रुअरीसम्मको अवधिलाई हिउँद मानिन्छ।