काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ खोजेका छन्। मंगलबार राति बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीसँग एमसीसी अनुमोदनमा सहयोगका गर्न आग्रह गरेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
जवाफमा ओलीले 'हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेको' नेता रिजालले जानकारी दिए।
आइतबार संसद्मा टेबल भएको एमसीसीको विपक्षमा उभिने सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले निर्णय गरेका छन्। सत्ता साझेदारहरुले नै साथ नदिने र सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रधानमन्त्री देउवाले ओलीको साथ खोजेका हुन्।
यसअघि मंगलबार दिउँसो नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र अध्यक्ष ओलीबीच भेट भएको थियो। उक्त भेटपछि अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।