काठमाडौं- नेपालीका नाममा कम्पनी खोलेर चिनियाँहरुले भारतीयहरुलाई ठगी गर्ने गरेको पाइएको छ। चिनियाँले नेपाली नागरिक दिनेश श्रेष्ठलाई प्रयोग गर्दै विभिन्न एपहरुमार्फत ऋण दिने भन्दै ठगी गर्ने गरेको पाइएको हो।
काठमाडौं प्रहरी परीसरले सोमबार उक्त कम्पनीमा छापा हानेर ३७ जनालाई पक्राउ गरेपछि चिनियाँ नेक्ससबारे खुलासा भएको हो। पक्राउ पर्नेमा २० देखि २५ वर्षका १३ युवती र २३ युवक छन्। कम्पनीले कल सेन्टरमा काम गर्ने भन्दै क्याम्पस पढ्ने युवायुवतीहरुलाई मासिक १६ देखि १८ हजार रुपैयाँसम्म दिएर काम गराएको पाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार नेपाली नागरिक श्रेष्ठको नाममा दर्ता भएको कम्पनीले विभिन्न छ वटा एप्लिकेशनहरुमार्फत भारतीयलाई चर्को ब्याजमा ऋण दिने र ७ दिनभित्रमा ऋण तिर्नु पर्ने भन्दै ठगी गर्ने गरेका छन्।
दुई महिनाअघि मध्य बानेश्वरमा स्थापना भएको कम्पनीले दैनिक ६ करोड रुपैयाँसम्मको कारोबार गर्ने गरेको पाइएको छ।
त्यहाँ काम गर्ने कर्मचारीलाई दिइने तलबका लागि मेगा बैंकमा खाता खोलेर पठाउने गरेको र कारोबारको अन्य रकम भने चिनियाँ नागरिककै खातामा जम्मा हुने गरेकोसमेत प्रहरीले जनाएको छ।
भारतीयलाई लक्षित गरेर खोलिएका उक्त एप्समार्फत ठगिनेमा सबै भारतीय नागरिक छन्। भारतीयको आधार कार्ड लगायतका विवरण दर्ता गर्दै माग्ने गरिएको थियो।
उक्त एप्समार्फत ऋण लिन सकिने भन्दै विज्ञापन नै गरिएको थियो। उक्त विज्ञापनतर्फ भारतीय नागरिकहरु त्यो एप्लिकेशनमार्फत कम्पनीको सम्पर्कमा आउने र चिनियाँ नागरिकमार्फत ऋण लिन्थे। दैनिक दुई हजारदेखि २० हजार भारतीय रुपैयाँसम्म ऋण दिने गरेका थिए। एप्समा निवेदन गर्दै खाता नम्बर माग्ने र चिनियाँ नागरिकले खातामा रकम पठाइदिन्थे।
उक्त रकम भनेको भाकामा ऋण नतिरे ती भारतीय नागरिकका आफन्तलाई समेत धम्क्याउने र ऋण असुली गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएका छन्।
पक्राउ परेका चिनियाँ र नेपालीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। आजै म्याद थप गरेर थप अनुसन्धान सुरु गरिने भएको छ।