काठमाडौं– पल शाह चल्तीका नायक हुन्। उनको स्टारडम लोभलाग्दो नै छ। समीक्षा अधिकारी पनि छोटो समयमै संगीत क्षेत्रमा स्थापित हुन पुगिन्। उनका पनि राम्रै फ्यान–फलोइङ छन्।
समीक्षाले गाएका थुप्रै गीतमा अभिनय गरेका छन् पलले। त्यही क्रममा दुईबीच प्रेम सम्बन्ध बन्यो। सेलिब्रेटीको सम्बन्ध व्यक्तिगत हुँदैन, सार्वजनिक बनिहाल्छ। पल र समीक्षाको हकमा पनि त्यही भयो। उनीहरुको प्रेम सम्बन्ध सामाजिक सञ्जाल र मिडियामा समेत चर्चाको विषय बन्यो। तर, दुवैले एकअर्काको बचाउ गर्दै आफूहरु असल मित्र मात्रै भएको बताउँदै आएका थिए।
यहीबीच एउटा अडियो बाहिरियो, जसमा पल र समीक्षाको कुराकानी रेकर्ड भएको छ। अडियोअनुसार पल समीक्षाबाट तर्किन खोजेको बुझ्न सकिन्छ। पलले समीक्षासँग विवाह गर्न नचाहेको तर समीक्षा विवाह गर्नुपर्ने अडानमा रहेको कुराकानीमा स्पष्ट छ।
अडियो सार्वजनिक भएपछि आज बिहान फेसबुकमार्फत पलले एउटा अपिल जारी गरेका छन्, जसमा उनले समीक्षा र आफ्नो चरित्र हत्या नगरिदिन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्दहरु प्रयोग गरी तथ्यविहीन लाल्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवं व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिपोर्ट, अडियो तथा समाचारहरुप्रति मेरो गम्भिर ध्यानाकर्षण भई सोबारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्यतथ्य उजागर गर्ने मनसायका साथ यो अपिल जारी गरेको छु।’
आफूले नेपाली मनोरञ्जन क्षेत्रमा दिएको योगदान र अझै गर्नुपर्ने कामको बारेमा दर्शकको मायाको आशा गर्दै उनले समीक्षाको पनि बचाउ गरेका छन्। पलले लेखेका छन्, ‘एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिबेटीको नाम र तस्बिरसमेत सार्वजनिक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन। आम सञ्चारमाध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको व्यक्तिगत जीवनमा कस्तो नकारात्मक असर पर्छ, त्यसको अनुमान समेत गर्न सकिँदैन। उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीवृद्धिमा पक्कै पनि सहयोग गर्दैन।
अनलाइन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु। प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भए पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्नभिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ। यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो। निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासेबमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ।
मेरा सम्पूर्ण दर्शक महानुभावहरुको मप्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धी साथीहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धताव्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखित समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु।’
पलले आफूलाई नसोधी समाचार प्रकाशन गरेकोमा पनि गुनासो गरेका छन्।