काठमाडौं– नेपाल प्रहरीले मध्य बानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ। प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो।
अनलाइनबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा एक जना चिनियाँ नागरिक पनि छन्। प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ। साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन्।
दुई वर्षअघि पनि काठमाडौंबाट १२० जना चिनियाँ नागरिक गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए। उनीहरूलाई अध्यागमन विभागले जरिवाना तिराएर चीन डिपोर्ट गरिदिएको थियो।