जलेश्वर- महोत्तरी जिल्लाको जलेश्वर-मटिहानी सडकखण्डमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका-६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका-३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा-६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश-२-०२-००४प ९१७१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको चालक जलेश्वर नपा-७ बस्ने ३३ वर्षीय शम्भु साह चढेको बिआर०६बी ७०२१ नंको मोटरसाइकल मटिहानी नपा-९ मा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनापश्चात दुई जना सवार मोटरसाइकल पछाडि बस्ने फरमान गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकामा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।