काठमाडौं- प्रतिनिधि सभामा टेबल भएको एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि नबढाउन आदेश माग गर्दै भण्डारीले रिट दिएका हुन्।
‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनता प्रतिकुल हुने निवदेनमा दाबी गरिएको छ। सम्झौताका प्रावधानलाई भियना अभिसन्धि अनुकुल बनाएर पारित गर्न आदेशको माग निवेदनमा गरिएको छ।
रिट अध्ययनकै क्रममा रहेकाले दर्ता वा दरपीठ हुनेबारे मंगलबार निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। एमसीसीका विषयमा सत्तारुढ दल विभाजित छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीका विषयमा मौन छ।