पोखरा- बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छन्। साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन्।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए। उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन्।
पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन्, 'सोमबारको बिहान निकै रमाइलो भयो। माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो।'
कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना संक्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको संख्या बढ्ने विश्वाससमेत व्यक्त गरे। उनले भनिन्, 'नेपाल भुबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ।'
उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवद्र्धनको आवश्यक रहेको बताइन्। उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रबर्द्धन हुँदै जाने विश्वास व्यक्त गरिन्।
सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन्।
उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन्। राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताइन्।