खलंगा- जुम्लाको तातोपानी गाउँपालिका-६ का महिला हाते होजियारी तालिमबाट आत्मनिर्भर हुन थालेका छन्। सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सिप सिक्नमै व्यस्त छन्। बिहान र बेलुकी स्वीटर, हाइनेकदेखि अन्य कपडा बुन्नमै समय बिताउने उनी अहिले महिला, पुरुष र बालबालिकाका लागि कपडा बुन्न सक्ने भएका छन्।
गाउँमै गाउँपालिकाले छ महिने सीपमूलक तालिम दिएपछि अहिले काम गर्न सहज भएको तिलनदेवीले बताए। सात कक्षा पढ्दा-पढ्दै स्कुल छाडेकी हियाखोलाकै पार्वती कामीले पनि अशिक्षित महिलालाई होजियारीको सीप दिन थालेपछि अहिले विभिन्न कपडा बुन्न थालेका छन्। हाते होजियारी उद्योगले गर्दा यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्न थालेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए।
अहिलेसम्म बासिन्दाले सरकारी काम पाउन सकेका छैनन्। यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला नै हो। उनले भने, 'अब रोजगारी सिर्जना गर्नका लागि गाउँमै हाते होजियारी उद्योग स्थापान गर्न लागिपरेको छु।' यो वडा कार्यालयले बेरोजगारीलाई रोजगारी दिनका लागि विभिन्न विकल्प अवलम्बन गरेको वडाध्यक्ष खड्काले बताए।
नगरपालिकाको टोल शिक्षा कार्यक्रम
कोरोनाले शिक्षण सिकाइमा असर पारेपछि चन्दननाथ नगरपालिकाले दशवटै वडाका टोल–टोलमा ४५ शिक्षक-शिक्षिकामार्फत टोल शिक्षा कार्यक्रममार्फत पठनपाठन सञ्चालन गर्न थालेको छ।
युनिसेफ नेपालको सहयोग र चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। अभिभावकको सहयोगमा बालबालिकाले घरमै पढाउन सकिने सिकाईका क्रियाकलापसहित पुस्तकसमेत उपलब्ध गराएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख खडानन्द चौलागाईंले बताए।
कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर पढाइ सुरु गरिएको हो। टोलमा पुग्ने शिक्षक–शिक्षिका तथा विद्यार्थीका लागि मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गराइएको छ। पढाइ हुने समयमा कोरोनाले गर्दा विद्यालय बन्द भएका बेला घरमै बसेका बालबालिकाको पढाइमा सहयोग गर्ने उद्देश्यले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठनपाठनलाई अघि बढाइएको उनको भनाइ थियो।