काठमाडौं- अमेरिकी अनुदान सम्झौतासम्बन्धी परियोजना एमसीसी आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल भएपछि विदेश सञ्चारमाध्यमहरुको पनि ध्यान नेपालतिर तानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एमसीसी संसद्मा टेबल भएको र त्यसको विरोधमा भएका सडक आन्दोलनहरुलाई प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले 'अमेरिकी उपहारविरुद्धको आन्दोलनलाई तितरवितर पार्न नेपाल प्रहरीद्वारा पानीको फोहरा र अश्रु ग्यास प्रहार' शीर्षकमा समाचार लेखेको छ। जसमा भनिएको छ, 'अमेरिकी सहायता पूर्वाधार कार्यक्रमलाई अनुमोदनका लागि आइतबार संसद्मा प्रस्तुत गरिएपछि काठमाडौंमा त्यसको विरोधमा उत्रिएका आन्दोलनकारीमाथि नेपाल प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ।'
३०० किलोमिटरभन्दा लामो सडक र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकाले दिएको उक्त रकमले रोजगारी सिर्जना गर्ने र पूर्वाधार निर्माण हुने उल्लेख गरिएको छ। अमेरिकी राजदूतावासलाई उदृत गर्दै रोयटर्समा लेखिएको छ, '५०० मिलियन अमेरिकी डलरको एमसीसी अनुदान अमेरिकी नागरिकका तर्फबाट दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउने उपहार हो। यसले नेपालमा रोजगारी सिर्जना गर्ने र पूर्वाधार विकास गर्दै नेपालीको जीवनस्तर सुधार गर्नेछ।'
रोयर्टसको यही समाचारलाई अमेरिकी सञ्चारमाध्यम सीएनएन र कतारबाट सञ्चालित समाचार संस्था अलजजिराले पनि प्रकाशन गरेका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी र एएफपीले लेखेको समाचारलाई जर्मनीको समाचार संस्था डीडब्लुले प्रकाशन गरेको छ। 'अमेरिकी अनुदानबारे संसद्मा छलफल गराएपछि नेपालमा हिंसात्मक आन्दोलन' शीर्षकमा प्रकाशित समाचारमा भनिएको छ, 'अमेरिकी अनुदान सहायता पूर्वाधार विकास गर्ने परियोजनाका विषयमा संसद्मा छलफलका लागि अघि बढाइएपछि संसद् भवनबाहिर आइतबार दोस्रो पटक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।'
गरिबी निवारणविरुद्धको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अन्तर्गत हिमालय मुलुकले प्राप्त गर्ने ५०० मिलियन अमेरिकी डलरका विषयमा संसद्मा छलफलका लागि अघि बढाएपछि विवाद चर्किँदै गएको छ।
त्यसैगरी भारतीय सञ्चारमाध्यमहरु द हिन्दु, इण्डियन एक्सप्रेसले पनि 'विरोधका बीच एमसीसी संसद्मा प्रस्तुत' शीर्षकमा समाचार प्रकाशन गरेका छन्।