काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गठबन्धन नटुट्नेमा आश्वस्थ पारेका हुन्।
एमसीसीका कारण सत्ता गठबन्धन संकटमा नपरोस् भन्ने उद्देश्यले सोमबार वरिष्ठ नेता पौडेलले गठबन्धनमा आवद्ध राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन्। सोही भेटका क्रममा वरिष्ठ नेता पौडेललाई प्रचण्डले भने, 'गठबन्धन केही हुन्न, ढुक्क हुनुहोस्।'
कांग्रेस नेता पौडेल माओवादी अध्यक्षलाई भेट्न खुमलटार पुगेका थिए। सरकारले आइतबार प्रतिनिधि सभामा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गरेपछि कांग्रेस नेता पौडेलले गठबन्धनका नेताहरुको भेटघाटलाई अघि बढाएका हुन्।
यसअघि सोमबार बिहान पौडेलले सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी गठबन्धन भत्किन नदिनका लागि पहल गर्न आग्रह गरेका थिए। पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गर्ने बताइएको छ।
यथास्थितिमा एमसीसी पास हुन नहुने अडानमा रहेका प्रचण्ड, नेपाल र यादवलाई भेटेर आफूले राजनीतिलाई नयाँ समस्यातिर धकेलिन नदिने प्रयास गर्ने पौडेलले यसअघि बताएका थिए। मुलुकलाई थप समस्यामा जान नदिन गठबन्धनलाई पनि मजबुत राख्ने र एमसीसी पारित गराउन सहमति पनि जुटाउने उद्देश्यले पौडेलले सक्रियता बढाएका हुन्। एमसीसीबारे गठबन्धनभित्र साझा धारणा बनाउनैपर्नेमा पौडेलको जोड छ। ‘एमसीसी विशुद्ध विकास अनुदान हो। यसलाई राजनीतिक मुद्दा बनाउन हुँदैन,’ पौडेलको भनाइ छ।