काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी कसैको दबाबमा अघि नबढेको भन्दै यसबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
आज पत्रकार सम्मलेन आयोजना गरेर प्रवक्ता महतले गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा प्रस्तुत भएको बताए।
एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएकोमा उनको आपत्ति थियो। ‘यो कसरी राष्ट्रघाती र राष्ट्रविरोधी भयो? कसरी आउँछ अमेरिकी सेना? नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको थिएन,’ महतले भने।
देशभर घुमेर पनि एमसीसीको पक्षमा माहोल बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले भने, ‘धरै पटक भन्यो भने झुटो पनि सत्य हुँदो रैछ, साँचो पनि झुटो हुँदो रहेछ। एमसीसीमा यस्तै भएको छ।’
प्रवक्ता महतले कतैबाट एमसीसी परियोजनाका लागि दबाब नआएको दोहोर्याए। भने, ‘हामीलाई कसैको दबाब आएको छैन। तपाईंहरूले नै मागेको परियोजना हो, हामीले त्यहीअनुसार सहयोग गर्न खोजेका हौं भनेको हो अमेरिकाले। यो अस्वाभाविक हैन। उहाँहरूले त्यति भन्नु दबाब हैन, दायित्व नै हो। हामीले यसलाई दबाबका रुपमा लिएका छैनौं। चीनले भनेको जस्तो पनि हामीलाई कुनै दबाब छैन। हामी कसैको दबाबमा पर्दैनौं।’
महतले एमसीसीको झुटो पर्दा उघ्रिन लागेको बताए। भने, ‘एमसीसीबारे जनताले बुझ्दैछन्, हामी बुझाउन लागेका छौं। सत्य प्रमाणित भएरै छाड्छ।’
पत्रकार सम्मेलनमा महतले एमसीसीको टाइमलाइनबारे व्याख्या गरे। महतले भने, ‘एमसीसी विशेष संरचना अमेरिकी कंग्रेसले खडा गरेको हो। डा। बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला एमसीसीको प्रकिया अघि बढेको हो। त्यसयता सबैसरकार यसमा संलग्न छन्। सबैको निर्णय अनुमोदन गर्न ५ वर्षको कसरतपछि एमसीसी समझौता भएको हो। सम्झौतमा अनुमोदनका लागि लैजाने प्रावधान थिएन। केपी ओली नेतृत्वको सरकारले संसदमा लैजाने पूरक प्रावधान राखेको हो। त्यही बेला यो अनुमोदन गरियोस् भनेर संसदमा दर्ता गरियो। अहिले विरोधमा भएका सबै नेता एमसीसीमा संलग्न छन्।’