मंगलबार, भदौ २, २०८३

एमसीसीको झुटो पर्दा उघ्रिँदैछ : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको झुटो पर्दा उघ्रिन लागेको बताएका छन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले  एमसीसीको झुटो पर्दा उघ्रिन लागेको बताएका छन्।

संसद् बैठकमा एमसीसी प्रस्तुत भएको भोलिपल्ट आज सोमबार पत्रकार सम्मेलन आयोजना गरेका महतले भने, ‘एमसीसीबारे जनताले बुझ्दैछन्, हामी बुझाउन लागेका छौं। सत्य प्रमाणित भएरै छाड्छ।’

पत्रकार सम्मेलनमा महतले एमसीसीको टाइमलाइनबारे व्याख्या गरे। महतले भने, ‘एमसीसी विशेष संरचना अमेरिकी कंग्रेसले खडा गरेको हो। डा. बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला एमसीसीको प्रकिया अघि बढेको हो। त्यसयता सबैसरकार यसमा संलग्न छन्। सबैको निर्णय अनुमोदन गर्न ५ वर्षको कसरतपछि एमसीसी समझौता भएको हो। सम्झौतमा अनुमोदनका लागि लैजाने प्रावधान थिएन। केपी ओली नेतृत्वको सरकारले संसदमा लैजाने पूरक प्रावधान राखेको हो। त्यही बेला यो अनुमोदन गरियोस् भनेर संसदमा दर्ता गरियो। अहिले विरोधमा भएका सबै नेता एमसीसीमा संलग्न छन्।

हामी प्रतिपक्षमा हुँदा र विपक्षीमा हुँदा पनि एमसीसी अनुमोदन हुनुपर्छ यो नेपालको हितमा छ भनेको हो। सही छ भने पार्टीगत रूपमा लाभ–हानि हेर्दैनौं। कांग्रेस सत्यको पक्षमा उभिन्छ। सत्ता र विपक्षमा हुँदा बोली फेर्दैन। एमसीसी पास गर्नुपर्छ भनेर प्रचण्ड र शेरबहादुरजीले संयुक्त पत्र पठाउनुभएको हो। अब यही फागुन १६ गतेभित्र पास गर्नुपर्नेछ। यो परियोजना ५ वर्षमा सम्पन्न हुनुपर्नेमा पाँच वर्ष हामीले अघि बढाउनै सकेन। अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता खस्कँदै गयो र हामी यसलाई पास गर्नअघि बढेका छौं। ढिलै भए पनि गठबन्धनका दलहरू टेबल गर्न सहमत भए। यो अनुदान हो, प्राथमिकता क्षेत्र हामीले तोकको हो। प्रसारण लाइन र सडक बनाउँदा राष्ट्रघात हुन्छ भनेर पहिलो पटक सुन्दैछु। मलाई अचम्म लागेको छ।’

ऋणमा समेत जुन देशबाट ऋण आएको हो, त्यही देशका ठेकेदार आउने भए पनि एमसीसीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्ने महतले बताए। सैन्य प्रयोजनमा खर्च गर्न पाइँदैन भनेर सम्झौतामा नै उल्लेख भएकाले अमेरिकी सेना आउने कुराको कुनै आधार नभएको महतले बताए। ‘मंगोलियामा दोस्रो चरणमा एमसीसीको रकम खर्च हुँदैछ। त्यहाँ अमेरिकी सेना गएको छैन त,’ महतले भने।

गठबन्धनले एमसीसी पास गर्न सहयोग गर्नेमा महतले विश्वास व्यक्त गरे। भने, ‘उहाँहरू कसरी सहयोगी बन्नुहुन्छ भन्ने हो। त्यो १२ गतेसम्ममा थाहा हुन्छ। हामी गठबन्धनका दल र विपक्षी दलसँग पनि निरन्तर छलफलमा छौं। अन्य विषयसँग जोडेर एमसीसी फेल गराउनहुन्न, आउउनुस् छलफल गरौं र पास गरौं भनेर एमालेलाई पनि भनेका छौं। एमसीसीका कारण गठबन्धन टुट्दैन भन्ने विश्वास छ। घटनाक्रम अनुसार हामी दृष्टिकोण बनाउँछौं।’

प्रकाशित: Feb 21, 2022| 14:48 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...