काठमाडौं– एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। गठबन्धन जोगाउन भन्दै उनी मैदानमा उत्रिएका हुन्।
पौडेलले सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी गठबन्धन भत्किन नदिनका लागि पहल गर्न आग्रह गरेका थिए। पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गर्ने बताइएको छ।
प्रचण्डसँग आज अपराह्न ३ बजे र त्यसपछि नेपालसँग भेट्ने कार्यक्रम तय भएको छ। यथास्थितिमा एमसीसी पास हुन नहुने अडानमा रहेका प्रचण्ड, नेपाल र यादवलाई भेटेर आफूले राजनीतिलाई नयाँ समस्यातिर धकेलिन नदिने प्रयास गर्ने पौडेलको भनाइ छ।
रामचन्द्र पौडेल सञ्ता गठबन्धनले निर्माण गरेको संयन्त्रका संयोजक पनि हुन्। मुलुकलाई थप समस्यामा जान नदिन गठबन्धनलाई पनि मजबुत राख्ने र एमसीसी पारित गराउन सहमति पनि जुटाउने उद्देश्यले पौडेलले सक्रियता बढाएका हुन्। एमसीसीबारे गठबन्धनभित्र साझा धारणा बनाउनैपर्नेमा पौडेलको जोड छ। ‘एमसीसी विशुद्ध विकास अनुदान हो। यसलाई राजनीतिक मुद्दा बनाउन हुँदैन,’ पौडेलको भनाइ छ।
यथास्थितिमा एमसीसी पास हुन नहुने अडानमा रहेका प्रचण्ड, नेपाल र यादवलाई भेटेर आफूले राजनीतिलाई नयाँ समस्यातिर धकेलिन नदिने प्रयास गर्ने पौडेलको भनाइ छ।
उता, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले बोलाएको कांग्रेसका एक नेताले बताए। संसद्मा प्रस्तुत भएको एमसीसी कसरी पारित गर्ने र गठबन्धनमा समस्या आए कसरी अघि बढ्ने भन्ने विषयमा देउवाले छलफल गर्न लागेका हुन्।
लामो रस्साकस्सीपछि एमसीसी सम्झौतामा संसद्मा पेश भए पनि पारित हुने–नहुने अन्योल छ। सत्ता साझेदार दलहरु नै एमसीसीको विरोधमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गराउन सहज छैन।
सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पारितका लागि समर्थन गर्न नसकिने बताएका छन्। यद्यपि, एमसीसी सदनमा प्रस्तुत गर्ने सन्दर्भमा द्वैध चरित्र देखाएको माओवादीले निर्णायक मोडमा के गर्छ भन्न सकिँदैन।
आगामी बिहीबार बस्ने संसद् बैठकमा एमसीसीबारे छलफल हुने सम्भावना छ। सोही दिन सामान्य छलफल गराएर सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई निर्णयार्थ प्रस्तुत गर्न सक्छन्। अहिलेको अवस्था र अंक गणित हेर्दा एमसीसी पारित गर्न संसद्भित्र पर्याप्त संख्या पुग्दैन।
एमसीसी पारित गर्ने पक्षमा अहिले नेपाली कांग्रेस एक्लै देखिएको छ। प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मात्र एमसीसीमा साथ दिने आश्वासन प्रधानमन्त्री देउवालाई दिएको छ। जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो निर्णय स्पष्ट गरेको छैन। पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसीको पक्षमै देखिएका छन् तर अर्का अध्यक्ष उपेन्द्र यादवले स्पष्ट बोलेका छैनन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबुल गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न मन्त्री कार्कीलाई समय दिएका थिए। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए।