काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमानदार भएर काममा लाग्नु आवश्यक रहेको बताइन्।
मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महसुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिएकी छन्।
विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सदैव तयार रहेको पनि उनले बताइन्।
मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरी काम गर्नसमेत विभागलाई निर्देशन दिएकी छन्।
छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिय प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आग्रह गरिन्।