दाङ- तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका-५ न्युरोडका ३३ वर्षीय भुपलाल विक र तुलसीपुर १८ हेमन्तपुरका २६ वर्षीय देवराज देवकोटा पक्राउलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ब्राउन सुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार बेलुका ५ बजेतिर विकलाई उनकै घरबाट पक्राउ गरिएको हो।
विकको साथबाट १७ वटा पुरिया फेला परेको र प्लाष्टिक हटाएर तौल गर्दा पाँच सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। विकको सूचनाका आधारमा देवकोटालाई पनि आइतबार बेलुका ७ बजेतिर उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
देवकोटाले लगाएको ज्याकेटबाट १५ पुरिया र कोठाको दराजभित्र लुकाइराखेको अवस्थामा प्लाष्टिक फालेर तौल गर्दा ३ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएक प्रहरीको भनाइ छ। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।