एमसीसी संसदमा पेस
सत्तारुढ दलहरूकै तीव्र मतभेदका बीच प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता टेबल गरेका हुन्।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोध कायमै रहेको तथा सत्तारुढ दल नेकपा(माओवादी)केन्द्र र राष्ट्रिय जनमोर्चाको असहमतिका बाबजुद मन्त्री कार्कीले एमसीसी सम्झौता पेस गरेका हुन्। एमसीसी सम्झौता प्रतिनिधि सभामा पेश गर्दै मन्त्री कार्कीले संविधानको सर्वोच्चता र सर्वोपरिता भन्दा एमसीसी सम्झौताको कुनै पनि व्यवस्था र सर्तमाथि नभएको स्पष्ट पारेका थिए। संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यता अनुसार कुनै पनि सैन्य संगठनमा सामेल नहुने नेपालको परराष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै एमसीसी सम्झौता अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको उनले उल्लेख गरे।
यस सम्झौताअनुरुप एमसीसीले नेपाल सरकारलाई ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानमा सडक खण्डहरुको मर्मत, सम्भारका लागि ५०० मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने उनले जानकारी दिए। सम्झौता कार्यान्वयनमा आएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न हुनुपर्नेछ।
एमसीसी पारित हुने देउवाको विश्वास
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्बन्धी सम्झौता पारित हुने विश्वास व्यक्त गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै प्रधानमन्त्री देउवा सम्झौता पारित हुने विश्वास व्यक्त गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए। जवाफमा उनले पास हुने बताएका थिए। फागुन १२ गते बिहीबार प्रतिनिधि सभाको अर्को बैठक बस्ने र त्यही बैठकले सम्झौता अनुमोनदन गर्ने उनको भनाइ छ।
एमसीसीमा माओवादीको दोहोरो चरित्र
एमसीसीका सम्बन्धनमा सत्तारुढ दलहरुले नै दोहोरो चरित्र देखाएका छन्। गठबन्धन बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले संसदमा भने विरोध गरेका हुन्।
आइतबारको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को संसद अवरोध कायम रहुञ्जेल संसदमा महत्वपूर्ण एजेन्डामाथि छलफल हुन नसक्ने भन्दै विरोध जनाएका थिए। यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडान राख्दै आएको माओवादीले संसद् अवरोध भएको अवस्थालाई कारण बनाउँदै एमसीसीको विरोध गरेको हो।
नेकपा(एमाले)का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेश हुनु नेपाली जनता र संसदको अपमान हुनु भएको बताए। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाको धाकधम्की अगाडि लम्पसार परेर एमसीसी टेबल गरिएको आरोप लगाएका थिए। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशी सहयोगहरु संसदबाट पारित गर्ने प्रचलन नरहेको भन्दै एमसीसी संसदबाट पारित गर्नु आवश्यक नभएको टिप्पणी गरेकी थिइन्।
एमसीसी पारित गर्नुपर्ने पक्षमा अडान राख्दै आएको सत्ताको नेतृत्वकारी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने दलहरुलाई दोहोरो चरित्र त्याग्न आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि बाहिरिएका महामन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै फागुन १२ गतेको संसद बैठकमा दलहरु एमसीसीको पक्षमा वा विपक्षमा उभिनुपर्ने बताएका हुन्।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई उनले या त सरकार छोड्न या त एमसीसीका पक्षमा उभिन आग्रह गरेका थिए। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसीसी पारित गर्न ५ महिना समय माग्न पत्र पठाउँदै एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गराएका थिए। आइतबारको बैठमा सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एमालेलगायतले नाराबाजी गरेका थिए।
नयाँबानेश्वरमा गोली चल्यो
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भइरहँदा संसद भवन बाहिर आन्दोलन चर्किएपछि प्रहरीले गोली चलाएको छ। बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन थालेपछि प्रहरीले रबरको गोली चलाएको हो। प्रदर्शनका कारण बिजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो। आन्दोलनकारीले निजी सवारी साधनमा समेत तोडफोड गरेका थिए।
त्यसअघि प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढ्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनमा परी १० जना सुरक्षाकर्मी घाइते भएका छन् भने १३ जनालाई पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। सबै घाइतेहरूको अवस्था सामान्य छ।
उता माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भने आजको प्रदर्शनमा एक दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको बताएको छ। दिनभर तनावग्रस्त नयाँ बानेश्वर क्षेत्र साँझ भने सामान्य बनेको छ।
पिछडावर्गका लागि छुट्टाछुट्टै उत्थान समिति बनाउने तयारी
सरकारले बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समूदायहरुको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि वादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पीछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिनु भएको हो।
राष्ट्रिय समावेशी आयोग दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलित आयोग भएपनि उनीहरुको समग्र उत्थानका लागि विकास समितिनै उपयुक्त हुने भएकाले आफूले दलितहरुको पनि उत्थान विकास समिति बनाउने प्रस्ताव मन्त्रीपरिषदमा लगेको तर्क गरे ।
मन्त्री श्रेष्ठले खस–आर्य समूदायले पनि छुट्टै आयोग बनाउनका लागि आफू समक्ष प्रस्ताव गरेको र त्यस विषयमा पनि छलफल भईरहेको बताएका छन् ।
जावलाखेलको जित
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले हराएको हो। जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे । रोमान्चक बनेको खेलको १५ औं मिनेटमा रुपले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७१ औं मिनेटमा अमृत श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ८८ औं मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २-१ को जित दिलाए । त्यसबाहेक दुबै टोलीले अन्य केही गोलको अवसर गुमाए ।
खेलको १४औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेसको प्रहार गोलकिपर दीप कार्की बिट भईसकेको अवस्थामा अमृत श्रेष्ठले गोललाइन नजिकबाट क्लियर गरेका थिए। खेलको ३२ औं मिनेटमा निकोलसको कर्नरमा जावलाखेलका लोइक एनजिमीको हेडर पोस्टको केहि माथिबाट बाहिरिएको थियो।