काठमाडौं- आइतबार काठमाडौं नयाँ बानेश्वरस्थित संसद भवनमा एमसीसी टेबल भइरहँदा सडकमा लाठी, ढुंगा र रबरको गोली चलिरहेको थियो। दिनभरिको प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त हुनु त सामान्य नै भयो। नयाँ बानेश्वर क्षेत्र दिउँसोभरि रणमैदानमा परिणत भयो।
सडक तनावग्रस्त हुँदा कार्यालय र अस्पताल हिँडेका पैदलयात्रीसमेत रोकिए। दिनभरिको प्रदर्शनमा दश प्रहरी र तीन दर्जन प्रदर्शनकारी घाइते भए।
यहाँ बिहान सात बजेदेखि काठमाडौंमा जे-जे भयो प्रत्येक घन्टाको विवरण प्रस्तुत गरिएको छ:
८ बजे : बालुवाटारमा दश बजे बस्ने सत्ता गठबन्धनको बैठकअघि शीर्ष नेताहरूले आफ्ना पार्टीका नेता र सांसदसँग कुराकानी गरे। बालुवाटार बैठकमा कम्तिमा आइतबार नै एमसीसी टेबुल गर्ने र केही समयपछि मतदानबाट टुंगो लगाउन गठबन्धनभित्र सहमति जुटाउने प्रयास भयो।
९ बजे : एमसीसीको विपक्षमा रहेका पार्टी र तीनका जनवर्गीय संगठनद्वारा आन्दोलनको तयारी सुरु गरियो। माइतीघर र संसद् भवन आसपास बाक्लो संख्यामा प्रहरी तैनाथ भयो।
१० बजे : बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भयो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबारकै बैठक एमसीसी टेबल गर्ने सहमति जुट्यो।
११ बजे : संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट कार्यसूचीमा एमसीसीको विषय प्रवेश गराइयो।
१२ बजे : संसद भवनको चारैतिर प्रदर्शन सुरु भयो। भक्तपुरबाट आएको नेपाल मजदुर किसान पार्टीको टोलीको सिभिल अस्पताल अगाडि प्रदर्शन। नेकपा माओवादी, एकीकृत समाजवादी तथा ६ वटा बाम घटकको टोलीले बिजुलीबजार क्षेत्रबाट निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि झडप भयो। प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहरा प्रयोग गर्यो।
१ बजे : संसद भवनमा प्रतिनिधि सभाको बैठक सुरु भयो। अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित रहेकाले सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीद्वारा एमसीसी टेबल गरियो। माओवादी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाए। झलनाथ खनाल, भीम रावलद्वार एमसीसीको खण्डन गरियो। यससँगै एमालेले संसद अवरोध गर्यो।
यता प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गर्दै भीड तितरवितर बनायो। पुनः माइतीघर र शंखमूलबाट प्रदर्शनकारी अगाडि बढ्दा प्रहरीसँग झडप भयो। तीन दर्जनभन्दा बढी घाइते।
दिउँसो २ बजे : संसद बैठक समाप्त भए पनि बानेश्वर वरपर प्रदर्शन जारी रह्यो। शंखमूल क्षेत्रबाट बानेश्वर जाँदै गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्डक्रुजर गाडिमाथि बानेश्वर चोकमै ढुंगा प्रहार भयो। प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप।
दिउँसो ३ बजे : प्रहरीले तितरवितर पारेका प्रदर्शनकारी बिजुलीबजारमा जम्मा भई टायर बालेर प्रदर्शन गरे। त्यसक्रममा तीन प्रहरीलाई बुद्धनगरको भित्री सडकको कपडा पसलभित्र थुनेर कुटपिट गरेपछि प्रहरीले रबरको गोली चलायो।
दिउँसो ४ बजे : बिजुलीबजार र माइतीघर क्षेत्रमा तनाव जारी रह्यो। प्रदर्शनकारीबाट केही सरकारी गाडीमा ढुंगा प्रहार भए। यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको बताउँदै प्रहरी दमनको भर्त्सना गरे।
साँझ ५ बजे : दिनभरि अवरुद्ध भएको सकड प्रहरी स्कर्टिङबाट खुलाइयो। त्रासका कारण सार्वजनिक सवारी सहजै चल्न सकेनन्।
साँझ ६ बजे : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा विदेशीको इसारामा सरकारले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरेको आरोप लगायो। आन्तरिक छलफलमा जुटेको एमालेले अराजकता र अस्थिरता निम्त्याउन एमसीसी ल्याइएको उद्घोष गर्यो।