काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वका विषयहरूमा थप ध्रुवीकरण हुन नदिन एमसीसी संसद्मा टेबल गरिएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले राष्ट्रिय महत्त्वका विषयमाथि नै छलफल हुन नपाएकाले एमसीसीलाई पनि संसद्मा नै छलफल गर्नुपर्ने भएकाले टेबल गरिएको बताएका हुन्।
‘लामो समयदेखि अवरुद्ध संसद् सुचारु गर्न विगत लामो समयदेखि जारी अवरोधका कारण संसद् सञ्चालन हुन सकिरहेको छैन। यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरूमा प्रभाव परिरहेको छ,’ उनले भने, ‘राष्ट्रिय महत्त्वका विषयवस्तुहरूलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकूलता सिर्जना गरेको छ।’
सभामुख सापकोटाले संसद्मा छलफल गर्ने वातावरण बनाउनसमेत सबैलाई आग्रह गरेका थिए। संसद्मा विभिन्न दलका सांसदको अवरोधका बीच आइतबारको बैठकमा एमसीसी सम्झौता टेबल भएको छ।