काठमाडौं– प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाको धम्कीपछि एमसीसी संसद्मा टेबल भएको बताएका छन्।
'अमेरिकाले फोन गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्की दिएपछि यो टेबुल भएको हो,' उनले भने।
उनले नेपाल कसैको धम्कीले चल्ने नभई कानुन अनुसार चल्नुपर्ने धारणा राखेका छन्। 'एमसीसी सम्झौतामा एमसीसी कानुनलाई विरोध गर्न नपाइने भनेर किन सही गरियो? दुई देशको सम्झौतामा युरोप प्यासिफिक अमेरिकाको कुरा कहाँबाट आयो?,' उनले प्रश्न गरे।
उनले यस्ता विवादित विषयमा किन सही गरेको भन्दै तत्कालीन अर्थमन्त्रीलाई प्रश्न गरेका छन्। उनले यस विषयको अध्ययन नै नगरी सही गर्ने तत्कालीन अर्थमन्त्रीलाई समेत स्पष्टीकरण सोध्नुपर्ने बताएका छन्।