काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले धम्की दिएपछि संसद् बैठकको कार्यसूचीमा एमसीसी आएको दाबी गरेका छन्। आजको संसद् बैठकमा उनले प्रश्न गरे, ‘नेपाल अमेरिकी धम्कीअनुसार चल्ने हो? नेपाली कांग्रेसका लागि नेपाली जनताको कुनै मूल्य छैन।’
विगतदेखि नै संसद् बैठकमा एमसीसीको चर्को विरोध गर्दै आएका सुवालले आज पनि त्यसलाई निरन्तरता दिए।
सुवालअघि बोलेका एमालेका सांसद भीम रावलले पनि एमसीसी राष्ट्रघाती भएको दाबी गरे। आफ्नै पार्टीका सांसदहरुको नाराबाजीका बीच बोलेका रावलले दलहरुको सहमतिबिना प्रमुख प्रतिपक्षीले संसद् अवरुद्ध गरिरहेका बेला एमससीसी टेबुल गर्ने कार्यसूची कसरी आयो भनेर प्रश्न गरे।
बैठकको सुरुमा धारणा राखेका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई बैठकको कार्यसूचीमा राखिएको भन्दै आपत्ति जनाए। कार्यव्यवस्था परामर्श समितिको बैठकमा आफूहरुले यसलाई कार्यसूचीमा नराख्न लिखित अनुरोध गरिएकोमा त्यसलाई बेवास्ता गरिएको बताएका छन्।