काठमाडौं- यसवर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल समयकर्मी ज्योति अधिकारीलाई प्रदान गरिने भएको छ। राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ राशीको पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट नेपाल समय डटकममा कार्यरत पत्रकार अधिकारी छनोट भएकी हुन्।
पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते सोमबार बिहान ११ बजे कावासोती २ राधाचोकस्थित बस्याल निवासमा हुने भएको छ। फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्टमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ।
विस २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कात्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो। एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन्।
समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन। राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन्।