शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर

गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर

सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन्।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

झापा- सुत्केरी सुविधाका लागि टाढा धाउन नपरोस् भनेर सरकारले गाउँमै निःशुल्क बर्थिङ सेन्टर सञ्चालन गरेको छ तर, गाउँका महिला अझै पनि पैसा खर्च गरेर सहर पुगी सुत्केरी गराउँछन्। 

आदिवासी, मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको झापा गाउँपालिकाको दुई वर्षको तथ्याङ्क विश्लेषण गर्दा स्थानीय महिला पालिकमै रहेको बर्थिङ सेन्टरमा गर्भवती जाँच गर्न आए पनि बच्चा जन्माउन भने दमक र विर्तामोडका ठूला अस्पताल नै धाउने गरेको तथ्याङ्कले देखाएको छ। पालिकाको कामाटोली बजारमा विगत पाँच वर्षदेखि सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा छ। तर, विगत दुई वर्षको अवधिमा पालिकामा तीन हजार ११७ बालबालिकाको जन्म भए पनि सो बर्थिङ सेन्टरमा भने ४४ को मात्र जन्म भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मण विकले बताए। 

पालिकाले स्वास्थ्यचौकीमै बर्थिङ सेन्टर सञ्चालन गरेको हो। जहाँ सुत्केरी गराउने जनशक्ति र उपकरण पर्याप्त छ। सहर धाउन नसक्ने अतिविपन्न समुदायका नगन्य महिलाले मात्र सुत्केरी सेवा लिएको पालिकाको तथ्याङ्कले देखाएको छ। 

उनका अनुसार सेन्टरमा आर्थिक वर्ष २०७७/०७८ मा ११ र २०७६/०७७ मा २३ जना सुत्केरी भएका छन्। सुत्केरी हुने अधिकांश मुस्लिम समुदायका महिला रहेको उनले बताए।  उनले गर्भवती हुने महिला पहिलोपटक जाँच गराउन धेरै आउने तर दोस्रो पटकदेखि घट्दै जाने गरेको बताए। 

गतवर्ष पहिलोपटक महिनावारी रोकिएका २२४ ले स्वास्थ्य जाँच गराएका थिए। दोस्रोपटक जाँच गराउनेको सङ्ख्या घटेर १५४ मा सीमित भएको थियो। तीमध्ये पनि चौथोपटक जाँच गराउन आउनेको सङ्ख्या ७८ रहेको थियो। प्रसूति हुनेको सङ्ख्या ११ रहेको उनको भनाइ छ। 

'पैसा हुनेहरु विराटनगर, विर्तामोडतिर जान्छन्', प्रमुख विकले भने, 'चौबीसै घण्टा सेवा दिइरहेको हाम्रो बर्थिङ सेन्टरमा भने पैसा नहुने अति गरिब मात्र आउँछन्।'

उनले गर्भवती भएपछि महिला नियमित लिनुपर्ने खोप र औषधिका लागि मात्र आउने गरेको बताउँछन्। बर्थिङ सेन्टरमा आवश्यक उपकरण र सामग्री पर्याप्त रहेको बताउँदै उनी भन्छन्, 'अस्पतालमै सुरक्षित सुत्केरी गराउनुपर्छ भन्ने चेतना चाहिँ मान्छेमा आयो तर आफ्नै स्थानमा भएको सेन्टरको सेवाप्रति विश्वस्त बनाउन अझै बाँकी देखियो।'

गाउँपालिकाका पञ्जीकरण शाखाका कर्मचारी रोहित कर्णले आव २०७७/०७८ मा दुई हजार १८ बालबालिकाको जन्मदर्ता भएको बताए। जसमध्ये ९८७ बालिका र एक हजार ३१ बालक रहेको उनको भनाइ छ। यसैगरी अघिल्लो आव २०७६/०७७ मा एक हजार ९९ को जन्मदर्ता भएकोमा ५५६ बालक र ५४३ बालिका छन्। - रासस 

प्रकाशित: Feb 19, 2022| 11:40 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।