धरमरमा गठबन्धन
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताएका हुन्। उनले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत निर्णय गराउन आफू लागि परिरहेको बताए। प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुन सक्ने बताए।
प्रधानमन्त्री देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीका कामको प्रचार कम गरिरहेको गुनासो पनि गरेका थिए। पार्टीले राम्रो-राम्रो काम गरिरहेको भएपनि जस कुनै व्यक्तिलाई मात्र जाने ईर्ष्याका कारण पार्टीको प्रचार नगर्ने शैली नेता कार्यकर्तामा भएको उनको भनाइ छ।
प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने बताए। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने उल्लेख गरेका थिए।
महामन्त्री थापाले नेपाली कांग्रेसले कुनै पनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दाबीसमेत गरेका थिए।
उता प्रधानमन्त्री देउवाले भने प्रचण्डलाई दुई विकल्प दिएका छन्। एमसीसीको पक्षमा मतदान नगरे पनि मौन बस्न वा विपक्षमा मतदान गर्ने भए सरकारबाट बाहिरिने विकल्प दिएका हुन्। बुधबार माओवादी केन्द्रको संसदीय दलको बैठकपछि बालुवाटार पुगेका प्रचण्डलाई यस्तो विकल्प दिएका थिए। यसबारेमा बुधबार साँझ देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई ब्रिफिङ गरेका हुन्।
उता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्। बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरूले गठबन्धनलाई बचाउन जोड दिएको बताए। सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताएका छन्। उनले बैठकमा एमसीसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिए।
अध्यक्ष दाहालले बिहीबार साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने पनि बताएका थिए।
दलको संख्या १०६
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ।
निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना जारी गरेको हो। बिहीवार आयोगले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्ने बताए।
आयोगमा हालसम्म दर्ता भएको दलको संख्या १०६ पुगेका छन्। स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायतका लागि आयोगले बुधवार नेपालस्थित विभिन्न २० वटा राजनीतिक नियोगहरु तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफलसमेत गरेको छ।
ओलीनिवास पुगे रिजाल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका हुन् ।
कांग्रेस नेता रिजालले भेटवार्ता भएको पुष्टि गरे । बिहीबार साँझ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको छलफल बोलाइएको छ । त्यसअघि रिजालले विपक्षी दलका नेता ओलीलाई भेटेका हुन् ।
प्रधानमन्त्रीसँग अमेरिकी राजदूतको भेट
संसद्बाट एमसीसी पारित गर्ने विषयमा अन्यौल बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो। सरकारले बुधबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको थियो। तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेपछि एमसीसी टेबल हुन सकेन।
संसदमा एमसीसी टेबल नभएपछि बुधबार साँझ नै अमेरिकी राजदूतले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले अमेरिकी राजदूतसँग भेट भएको पुष्टि गरे। बुधबार दिउँसो संसद् बैठकबाट बाहिरिने क्रममा कानुनमन्त्री समेत रहेका नेता दिलेन्द्र बडूले शुक्रबारको बैठकमा एमसीसी सम्झौता संसद्मा टेबल गरिने बताएका छन्।
एकसाथ ३ सय विद्यालयमा आइटी ल्याब
सरकारले दुई हजार ३ सय विद्यालयमा एकसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन्।
शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै विद्यालयमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे। मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए।
मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताएका छन्।
त्रिविमा काउन्टर विरोध
त्रिभूवन विश्वविद्यालयका प्राध्यापकले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभूवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। तालाबन्दी समाधान होइन, समस्या हो। विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुछ होऔँ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए। उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए। प्रदर्शनकारी प्राध्यापकहरुले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ।
एचआइभी रणनीति सार्वजनिक
सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना-२०२१/२०२६ सर्वजनिक गरेको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना-२०२१-२०२६ सार्वजनिक गरिएको हो। रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यले २०२१-२०२६ रणनीतिक योजना ल्याएको बताएकी छिन्।
सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताएका थिए।
ब्राजिलमा बाढी
ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा बाढीपहिरोमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको छ। ब्राजिलको रियो दि जेनेरियो सहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात् आएको मुसलधारे वर्षापछिको बाढी पहिरोमा ठूलो जनधनको क्षति भएको हो। बाढीले दर्जनौं सवारी साधन बगाएको थियो भने पहिरोमा परि सयौं घर ध्वस्त भएका छन्।
भग्नावशेषमा पुरिएकाहरुको खोजी कार्य जारी छ। अधिकारीहरुका अनुसार उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन शहरमा आपतकाल घोषणा गरिएको छ। उद्धार कार्यमा सेनालाई समेत परिचालन गरिएको छ।
एपीएफ र एनआरटीको जित
सहिद स्मारक ए डिभिजन लिगको ७६औं र ७७औं खेलमा एपीएफ र न्यु रोड टिम(एनआरटी) ले जित निकालेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टिम एपीएफले मनाङ मर्स्याङ्दीलाई ३–१ गोलले हराएको हो। एपीएफको जितमा आशिष लामा, मणि कुमार लामा र नविन लामाले समान १–१ गोल गरे।
यता खेलको ३५औं मिनेटमै गोल गर्दै मनाङ फरवार्ड अन्जन विष्टले अग्रता बनाएका थिए। तर उनले बनाएको अग्रता आशिषले पहिलो हाफमै तोडेका थिए। दोस्रो हाफमा एपीएफले दुई गोल थपेर जित निश्चित गरेको हो।
यो जितसँगै एपीएफले १४ अंक बनाएको छ। १४ अंकसँगै उसले एक स्थान सुधार गरेको छ। यता २० अंक बनाएको मनाङ भने दोस्रो स्थानमा कायम छ। तेस्रो स्थानको आर्मीले पनि बुधबार हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो।
यता, आजै सातादोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा संकटाविरुद्ध एनआरटीले जित निकालेको छ। चौथो स्थानका लागि प्रयास गरिरहेको न्यु रोड टिम आजको जितसँगै पाँचौ स्थानमा उक्लिएको छ।
यता पराजित संकटा क्लब भने १५ अंकका साथ छैटौं स्थानमा झरेको छ। यसअघि ऊ पाँचौ स्थानमा थियो।
आजको खेलमा मनाङले हार व्यहोरेपछि लिगमा दोस्रो र तेस्रो स्थानको प्रतिस्पर्धा रोचक बन्ने भएको छ। लिग विजेता घोषित भइसकेको अवस्थामा दोस्रो र तेस्रो स्थानका लागि अहिले मनाङसँगै, आर्मी, थ्रीस्टार, न्यु रोड टिम र संकटा लडाईँमा छन्। सातादोबाटोले पनि चौथौ स्थानमा लिग अन्त्य गर्ने लक्ष्य राखेको छ।