काठमाडौं- हिउँ नै हिउँमा खेलिने स्की प्रतियोगिता नेपालमा पनि हुन्छ भन्दा हामीलाई नौलो हुन सक्छ। किन भने स्किका लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ।
मुस्ताङमा सम्पन्न स्कीको चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न हुँदा नेपालमा नि स्कि सम्भावना छ भन्ने सिद्ध भएको छ। सामान्य वातावरणभन्दा अलि फरक वातावरणमा समाहित हुँदै खेल्नु पर्ने स्कि खेल नेपालमा पनि अन्तर्राष्ट्रिय स्थलमा जस्तै आयोजना हुन्छ भन्ने उदाहरण बनेको छ।
स्कि खेल विशेष गरी युरोपमा निकै लोक प्रिय छ। साहसिक खेलको रूपमा हेरिने यो खेल नेपालमा पनि सम्भव छ भन्ने उदाहरण मुस्ताङमा सम्पन्न चौथो स्कि च्याम्पियनसिपले प्रस्ट पारेको छ।
हिमालै हिमालको देशको रूपले परिचित नेपालका डाँडा काँडामा पर्ने हिउँले स्कि खेललाई सम्भावना प्रस्टाउँछ पनि। नेपालमा भएका धेरै स्थान मध्येको मुस्ताङ स्कि खेलको सम्भावना भनी रहँदा वारागुङ मुक्तिक्षेत्रको रानीपौवाको सेताम्मे हिउँमा चौथो संस्करणको स्की प्रतियोगिता नै सम्पन्न भयो।
स्थल मार्गको पहुँच र बसोबासका लागि उपयुक्त मुस्ताङमा हिउँको अवस्था राम्रो भएका कारण च्याम्पियनसिप आयोजना गर्न सफल भएको नेपाल स्की संघका महासचिव विजयी श्रेष्ठले बताए।
च्याम्पियनसिपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए। जसमा अल्पाइन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ च्याम्पियन बने। धनगढीका दिनेश कुमार बोहरा दोस्रो र सोलुखुम्बुका छिरिङ तेन्जिङ गुरुङ तेस्रो भए।
यस्तै अल्पाइन स्की महिलातर्फ नुवाकोटकी सङ्गीता लामा पहिलो बन्दा ललितपुरकी देबकोटा तिमाल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमशः दोस्रो र तेस्रो भए। अघिल्लो वर्ष कोरोनाका कारण स्की च्याम्पियनसिप आयोजना गर्न कठिनाइ भएको थियो।
प्रतियोगितामा सहभागी भएका खेलाडी मध्येका सदा श्रेष्ठले हिउँ पर्ने स्थान मध्येको मुस्ताङ क्षेत्रमा स्लोप बनाउनका लागि सजिलो हुने भएकाले उचित प्रशिक्षण हुँदा स्की खेलले अन्तर्राष्ट्रिय स्तरमासमेत प्रतिस्पर्धा गर्न सक्ने बताए।
विदेश रसियामा अभ्यास गरेर आएका सुजता तामाङले स्वदेशमा नै स्की खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्।
हिउँको पाखामा खेलिने स्कि खेलको सम्भावना नेपालमा भए पनि अन्य अरू खेलभन्दा उति चलायमान छैन। दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्ने र यसतर्फ आकर्षण बढ्ने यस खेलतर्फका जानकारहरूले बताएका छन्।