विराटनगर- मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका सुनसरी बर्जु गाउँपालिका-१ का २२ वर्षीय धनीलाल उराउको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
लाइफ गार्ड अस्पताल विराटनगरमा मा बिहान ५: ३० बजेतिर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार को २८प३८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार राति १० बजेतिर गम्भीर घाइते भएका उराउलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उराउको मृत्यु भएपछि अस्पताल परिसर बिहानैदेखि तनावपूर्ण बनेको छ।
अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठका अनुसार घाइतेको मृत्यु भएपछि आफन्त र परिवारका सदस्यले शव बुझेर घरतिर लैजाने तयारी गरेका थिए। तर त्यत्तिकैमा भेला भएको एउटा समूह शव लैजान नदिइकन अस्पतालविरुद्ध नाराबाजी र प्रदर्शनमा उत्रिएको उनको भनाइ छ। आक्रोसित भीडले अस्पताल बाहिर टायर बालेर नाराबाजी र प्रदर्शन गरिरहेको छ।
आन्दोलनमा उत्रिएकाहरुले बरगाछी-चाँदनी चोक सडकखण्ड अवरुद्ध बनाएका छन्। सडक सवारीसाधनसमेत चल्न नदिकन अस्पताल प्रवेशद्धारमा टायर बाल्दै आन्दोलन हुन थालेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए।