महोत्तरी- महोत्तरी जिल्लाको सागरनाथ वनमा हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिका–१२ मा रहेको सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेल्वे लिकभन्दा ५०० मिटर दक्षिणतर्फ जङ्गल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
नाम, थर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षीया गर्भवती, घाँटीमा निलडाम रहेको ती महिलालाई हत्यापछि जङ्गलमा फालिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत सुरु गरिसकेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।