काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ।
प्रतिनिधि सभाको बुधबार बस्ने भनिएको बैठकमा एमसीसी टेबल गर्ने भनिए पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच आजै टेबल नगर्ने सहमति भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भएको छलफलमा सत्तागठबन्धनका शीर्ष नेताको बैठक बिहीबार बोलाउने सहमति प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता जबर्जस्ती टेबल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए।
नेपाली कांग्रेसले गठबन्धनका दलहरुलाई मनाएर एमसीसी टेबल गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री देउवा पनि बुधबार नै एमसीसी टेबल गर्नेमा अडिग थिए।
यद्यपि, संसदको कार्यसूचीबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ।