काठमाडौं– प्रहरीले प्र्यांकस्टर आकाश सेढाईंलाई पक्राउ गरेको छ। प्रांकको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।झापा बिर्तामोडका सेढाईंले ८ वर्ष अघिदेखि प्रांक भिडियो बनाउँदै आएका थिए। उनी नेपालका चर्चित प्र्यांकस्टर हुन्।
तर, गृह मन्त्रालयले गत माघ १३ गते विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थलमा प्र्यांक भिडियो नबनाउन भनेको थियो। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व,सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्र्यांक भिडियो नबनाउन’ चेतावनी दिइएको थियो।
यसकै आधारमा साइबर ब्यूरोले प्र्यांकस्टर सेढाइलाई पक्राउ गरेको हो। तर, सेढाइले गृह मन्त्रालयको विज्ञप्तीपछि आफ्नो युट्युब च्यानल ‘नेपाली प्र्यांकस्टर्स’मा कुनै पनि प्र्यांक भिडियो बनाएर अपलोड गरेका छैनन्। उनको अन्तिम भिडियो तीन साताअघि अर्थात् माघ ८ गते अपलोड भएको छ। प्रहरीले उनलाई पुरानै भिडियोको आधारमा पक्राउ गरेको बुझिएको छ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार पक्राउ परेका सेढाईंलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन थुनामा राख्न अनुमति प्राप्त भएको छ। सेढाई पक्राउ सँगै प्रहरीले पुरानो भिडियोका आधारमा पक्राउ गर्न मिल्ने/नमिल्ने सामाजिक संजालमा बहस सुरु भएको छ।