काठमाडौं– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसद्मा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसद्बाट पारित गर्न नसकिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए।
उनले एमसीसी परियोजना अगाडि बढाउने हो भने राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु नभइकन कुनै पनि एजेण्डाहरु अगाडि बढ्न नसक्ने उनले स्पष्ट पारे। प्रमुख प्रतिपक्षीलाई सदन सुचारु गर्न आग्रह गर्ने पनि उनले बताए।
सत्तारुढ दलको सहमतिबिना एमसीसी परियोजना संसद्बाट पारित भएमा गठबन्धन स्वतः तोडिने प्रमुख सचेतक गुरुङले बताए। गठबन्धन तोडेर एमसीसी अगाडि बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उनले बताए। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ।