काठमाडौं- नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकार छोड्ने चेनावनी दिएको छ। बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सहमती बिनै एमसीसी टेबल भए सरकार छोड्ने निर्णय गरेको हो।
प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णयमा माओवादी पुगेको बताएका छन्। ‘सबै दलको सहमति हुनुपर्छ। सरकारमा रहेको गठबन्धन पनि एकमत हुन आवश्यक छ,' उनले भने। उनले सहमति बिनै कांग्रेसले एमसीसी टेबल गर्न खोज्नु गठबन्धन तोडेर गरिने निर्णय हुने भएकाले त्यस्तो अवस्थामा एमाले सरकारमा नरहने बताएका छन्।
‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुन सक्दैन। गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ। गठबन्धन तोडिनु भनेको सरकारबाट अलग हुने कुरा हो,’ उनले भने।
यसका साथै माओवादीले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्षसमेत निकालेको छ।
प्रमुख सचेतक गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णयसमेत भएको बताए।