काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तासिन दललाई सरकारबाट हट्न चेतावनी दिएका छन्।
सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई लक्षीत गर्दै सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन्।
‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन’, डा. भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्।
सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु नहुने उनले बताएका छन्। भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु भएको भट्टराईको भनाइ छ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।
यसैबीच प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्ताव समावेश छैन। कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ। तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी टेबुल तयारी गरिएको छ। एमसीसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
MCCको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन!सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!
— Baburam Bhattarai (@brb1954) February 15, 2022