काठमाडौं- प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्ताव समावेश छैन। कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ। तर, सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी टेबुल तयारी गरिएको छ। एमसीसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसीसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्।
मंगलबार सम्पन्न कांग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका थिए। यो विषयमा सभामुख सकारात्मक रहेको कांग्रेसको भनाइ छ।
सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टी भने एमसीसीको पक्षमा खुलेका छैनन्। प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ।