काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसद्मा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकले फागुन ४ गते नै एमसीसीलाई संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल भएको थियो। यद्यपि बैठक एमसीसीकै विषयमा बढी केन्द्रित थियो।
बैठकमा सांसद नरहेका नेता डा. रामशरण महत पनि सहभागी थिए। उनले सांसदहरुलाई एमसीसीबारे ब्रिफिङ गरेका थिए। यसअघि कार्यसम्पादन समितिको बैठकमा पनि महतले एमसीसीबारे लामो व्याख्या गरेका थिए।
बैठकको बीचमा नै बाहिरिएका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलिको संसद् बैठकमा एमसीसी पेस गरिने बताए। बैठकको बीचमा नै प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकका बीचमा नै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए।
संसद् बैठकमा एमसीसी टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटा पनि लचिलो भएका छन्। हिजो आफूले बोलाएको सर्वदलीय बैठकमा उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका थिए। आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी उनको थियो।
‘मेरो भनाइ के हुन्छ भने म अम्पायरमात्रै हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ सभामुख सापकोटाले भने। बैठकमा सबैले एमसीसीबारे आ–आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए। आफूले सबैको कुरा सुनेर स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्ने उनको भनाइ थियो।
आफूले संसद् सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको सभामुख सापकोटाले बताए। सिंहदरबारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन। उसले सभामुखको भूमिकामा प्रश्न उठाउँदै लगातार संसद् अवरुद्ध गर्दै आएको छ।