काठमाडौं– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालले अमेरिकासँग सम्बन्ध बिगार्ने काम गर्न नहुने बताएका छन्। पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महतले एमसीसी कुनै पनि हालतमा संसद्बाट पारित हुनुपर्ने बताए।
‘एमसीसी राष्ट्रको हितमा छ। यसले रोजगारी बढ्छ, लगानी बढ्छ, बिजुली उत्पादन बढ्छ। बिजुली निर्यात पनि गर्न सकिन्छ,’ उनले भने। अमेरिकी सेना आउनेजस्ता अफवाह फैलाइएको उनले बताए।
महतले एमसीसीबारे अनेक भ्रम सिर्जना गर्ने काम भएको बताए। ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ। एमसीसीका सन्दर्भमा झुट र भ्रम सिर्जना गरिएको छ। यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन,’ महतले भने। एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्ति राष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि उनले जोड दिए। ‘यसमा सरकार र कांग्रेस गम्भीर हुनुपर्छ। अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन। यही अधिवेशनले एमसीसी पारित गर्नुपर्छ। फागुन १६ भित्र पारित गरिसक्नुपर्छ,’ उनले भने।
‘यत्रो समय अमेरिकाले सहुलियत दियो, अब कुनै हालतमा पारित गर्नुपर्छ। एमसीसी नेपालको गरिबी र बेरोजगारी घटाउन सहयोगी बन्छ,’ उनको भनाइ थियो। महतले एमसीसीको चीनसँग कुनै साइनो नभएको पनि जिकिर गरे। नेपालले बीआरआई स्वीकार गर्न हुँदा एमसीसी स्वीकार पनि गर्न सकिने उनको तर्क छ। महतले भने, ‘हामी कुनै देशको पक्ष र विपक्षमा होइन।’
सांसद नभए पनि महत संसदीय दलको बैठकमा सहभागी भएका थिए। बैठकमा उनले सांसदहरुलाई एमसीसीबारे ब्रिफिङ गरेका थिए। यसअघि कार्यसम्पादन समितिको बैठकमा पनि महतले एमसीसीबारे लामो व्याख्या गरेका थिए।