काठमाडौं– काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी चलेको कुनै पनि देशमा अमेरिकी सेना नगएको भन्दै नेपालले पनि स्वीकार्नुपर्ने बताएका छन्। पार्टी संसदीय दलको बैठकबाट बाहिरिएपछि कोइरालाले एमसीसीमा कुनै आपत्तिजनक कुरा नभएको बताए।
कोइरालाले भने, ‘भोलिको संसद् बैठकमा एमसीसी पेस हुन्छ। सबैजसोको धारणा पास गर्नुपर्छ भन्ने छ, त्यसैले पास पनि हुन्छ।’
बैठकमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको र एमसीसी टेबुल गर्ने र पास गर्ने सबै कुरामा सबै एकमत रहेको सांसद अतहर कमल मुसलमानले बताए। उनले भने, ‘एमसीसीका सन्दर्भमा कांग्रेसमा फरक मत छैन।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, भोलि बस्ने संसद् बैठक लगायत विषयमा छलफल र आवश्यक निर्णय गर्न संसदीय दलको बैठक बसेको हो।
बैठकमा सांसद नरहेका नेता डा. रामशरण महत पनि सहभागी छन्। सांसदहरुलाई एमसीसीबारे ब्रिफिङ गर्न महतलाई संसदीय दलको बैठकमा बोलाइएको बताइएको छ। यसअघि कार्यसम्पादन समितिको बैठकमा पनि महतले एमसीसीबारे लामो व्याख्या गरेका थिए।
भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गराउने तयारीमा कांग्रेस छ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलिको बैठकमा एमसीसी टेबुल हुने संकेत गरेका छन्। संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ।’
संसद् बैठकमा एमसीसी टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटा पनि लचिलो भएका छन्। हिजो आफूले बोलाएको सर्वदलीय बैठकमा उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका थिए। आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी उनको थियो।