काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा चलिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, भोलि बस्ने संसद् बैठक लगायत विषयमा छलफल र आवश्यक निर्णय गर्न संसदीय दलको बैठक बसेको हो।
बैठकमा सांसद नरहेका नेता डा. रामशरण महत पनि सहभागी छन्। सांसदहरुलाई एमसीसीबारे ब्रिफिङ गर्न महतलाई संसदीय दलको बैठकमा बोलाइएको बताइएको छ। यसअघि कार्यसम्पादन समितिको बैठकमा पनि महतले एमसीसीबारे लामो व्याख्या गरेका थिए।
भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गराउने तयारीमा कांग्रेस छ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलिको बैठकमा एमसीसी टेबुल हुने संकेत गरेका छन्। संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ।’
संसद् बैठकमा एमसीसी टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटा पनि लचिलो भएका छन्। हिजो आफूले बोलाएको सर्वदलीय बैठकमा उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका थिए। आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी उनको थियो।
‘मेरो भनाइ के हुन्छ भने म अम्पायरमात्रै हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ सभामुख सापकोटाले भने। बैठकमा सबैले एमसीसीबारे आ–आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए। आफूले सबैको कुरा सुनेर स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्ने उनको भनाइ थियो।
आफूले संसद् सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको सभामुख सापकोटाले बताए। सिंहदरबारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन। उसले सभामुखको भूमिकामा प्रश्न उठाउँदै लगातार संसद् अवरुद्ध गर्दै आएको छ।