काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकले संसद् खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गर्ने निर्णय गरेको छ। बैठकमा सहभागी नेताहरूले संसद् खुलाउने एमालेसँग संवाद गर्ने निर्णय हो।
सर्वदलीय बैठकमा संसद् प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो। तर, एमालेले भने बैठक बहिष्कार गरेको थियो।
सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद सञ्चालन गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको बताए। ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद सूचारु गर्नका लागि पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरुमा धेरै कोणबाट धेरै महत्वपूर्ण छलफल भएको छ। र त्यसका साथसाथै राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ। र, त्यो सहमति बनाउनका लागि सबैले पहल, प्रयत्न गर्ने भन्ने कुरा भएको छ,' सभामुख सापकोटाले भने, 'बैठकले संसद चलाउनका लागि सबैलाई गम्भीर बनाएको छ। यसका लागि गम्भीर पहल गर्ने अनुभूति भएको छ। साथसाथै बैठकमा नागरिकताजस्ता, हवाई उडड्यनलगायतका महत्वपूर्ण विधेयकहरुलाई पारित गर्ने विषयमा पनि बैठकमा ध्यानाकर्षण गराएको छु।’
यस्तै संसद् चलाउने विषयमा बैठकमा छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले बताए। संसदमा एमालेले जिम्मेवार भूमिका निर्वाह नगरेको श्रेष्ठको भनाइ थियो।
‘संसद सञ्चालन गर्ने विषयमा छलफल भएको छ। संसदमा विचाराधिन ४२ वटा विधेयकलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ,' उनले भने, 'प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर संसद चलाउने सहमति भएको छ। एमालेले संसद अवरुद्ध जुन विषय उठाएर गरेको छ, त्यो असंवैधानिक, गैरकानुनी र गलत छ।’