काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने स्पष्ट पारेका छन्। उनले आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे।
‘मेरो भनाइ के हुन्छ भने म अम्पायरमात्रै हुँ, निर्णायक भूमिका त दलको हुन्छ,’ सोमबार आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले भने। बैठकमा सबैले एमसीसीबारे आ–आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए। आफूले सबैको कुरा सुनेर स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय गर्ने उनको भनाइ थियो।
आफूले संसद् सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको सभामुख सापकोटाले बताए। सिंहदरबारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन। उसले सभामुखको भूमिकामा प्रश्न उठाउँदै लगातार संसद् अवरुद्ध गर्दै आएको छ।
आजको सर्वदलीय बैठकमा संसद् सुचारु गर्न गम्भीर पहल गर्ने सहमति बनेको सभामुख सापकोटाले सुनाए। एमसीसीबारे भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा थप छलफल गर्ने सहमति भएको छ। अहिले एमसीसी टेबुल हुने–नहुनेबारे बैठक कुनै टुंगोमा पुग्न सकेन।