काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आइतबार भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओलीलाई भेट्न राजदूत साह बालकोट पुगेका हुन्। बालकोटस्थित ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
भेटमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पुर्याउन सफल भएको बारेमा छलफल भएको बताइएको छ।
तर, नेपालमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौतालाई अनुमोदनमा लैजाने विषयमा जोडतोडका साथ उठिरहेको समयमा चीन निकट मानिएको पाकिस्तानका राजदूतले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ।